Wednesday, July 9, 2014

जिता गाविसमा एकहप्ता पहिला रुख ढल्दा लाखौँको क्षति

जिता । लमजुङ जिल्लाको जिता गाविस वार्ड नं ७ मा रहेको सातधारा माथिको कदमको रुख ढल्दा लाखौंको क्षती भएको छ ।  सो रुख ढल्दा स्थानीय क्षेत्रमा रहेका पुरातात्विक हिसावले पनि अति महत्वपूर्ण मानिएका पुराना दुई मन्दिर सहित त्यहाँ रहेको सातमध्ये चारओटा धारा र पाटीमा समेत क्षति पुगेको छ ।
लमजुङको दक्षिण पश्चिम क्षेत्रमा रहेको जिता गाविस– ७ मा सो घट्नाबाट ठूलो क्षति भएको गाउँलेको भनाई छ ।
पुरातात्विक तथा धार्मिक हिसावले महत्वपूर्ण मानिएका तार्केश्वर महादेव र गणेशको पुरानो मन्दिर सातधारामध्ये चार धार र सो क्षेत्रको बाटो हिड्दा वटुवा बस्ने गरेको पाटी भत्किएको विष्णु श्रोष्ठले कुन्छा खबरलाई बताएका छन् । उनका अनुसार त्यहाँ रहेको मुलमा पानी खान गएका गाईले पानी खाएपछि घर जान नमान्ने र त्यही दुधको धारा बगाउने गरेको किंबदन्ती रहेको छ । सो स्थानमा विसं १७१९ मा स्थानीय कालु थापा, भञ्जन थापा आदि गरिएका व्यक्तिहरूले उक्त कदमको रुख रोपेको गाउँलेहरू बताउँछन् । सो घट्नाबाट २५ लाख बराबारको क्षति भएको गाउँलेको भनाई छ ।
सोही सप्तधारा परिसरमा परम्परागत पानीको मुल रहेको छ । त्यसमा कलात्मक सात धारा रहेको हुँदो सो स्थानको नाम नै सप्ताधारा रहन गएको रिमाल बताउँछन् । त्यहाँ रहेको पानीको मुल अहिलेसम्म पनि नसुकेको स्थानीयबासीको भनाई छ । गाउँलेका अनुसार सो स्थानमा रहेको पाँचको रुख ५ सय वर्ष पुरानो भएको र सो समेत ढल्ने अवस्थामा रहेको छ ।
उक्त कदमको रुख ढल्नुभन्दा १५ मिनेट अघिदेखि आवाज दिएको हुँदा मानवीय तथा पशुहरूको क्षति नभएको प्रत्यक्षदर्शीले बताएका छन् । जिता गाविसकै शोभाको रूपमा रहेको उक्त रुख ढल्दा र त्यसले त्यहाँका ऐतिहासिक एवम् पुरातात्विक हिसावले महत्वपूर्ण रहेका मन्दिरहरू तथा धाराहरू र पाटीसमेत नष्ट गर्दा आफूहरू दुःखी भएको गाउँलेले बताएका छन् ।
सप्तधाराको विकास, संरक्षण र प्रर्वद्धनका लागि स्थानीय स्तरबाट निकै प्रयास गरिए पनि अन्य सरोकारवाला निकायले चासो नदिएको उनीहरूको गुनासो छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्व राख्ने उक्त स्थानको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने स्थानीयबासीहरू बताउँछन् ।

No comments:

Post a Comment