Saturday, July 26, 2014

लमजुङका हलो क्रान्तिका नायकको संझना गरिँदै

साउन ११ गते हलोक्रान्ति भएको दिन हो । आजभन्दा करिब पैंसठ्ठी वर्ष अगाडि (२००६, साउन ११) आजकै दिन लमजुङ जिल्लाको दुराडाँडा क्षेत्रमा पं. तोयनाथ अधिकारी, ले. शेषकान्त अधिकारी, मु. हरिभक्त पौडेल र श्रीकान्त अधिकारीलगायत सत्ताइस जनाको सक्रियतामा नेपालमा पहिलो पटक उपाध्याय बाहुनहरुले हलो जोत्ने कामको थालनी गरेका थिए । हलोक्रान्ति तत्कालीन राणाशासनको विरुद्धमा छेडिएको जेहाद नै थियो । रानीपोखरीको छात्रावासबाट उठेको ‘जयतु संस्कृतम्’ जस्तै प्रतिकात्मक क्रान्ति हो, हलोक्रान्ति ।
हलोक्रान्तिले त्यतिबेला मुलुकभर ठूलै हलचल ल्याएको थियो ।
कृषिप्रधान देश नेपालमा बाहुनहरुले हलो जोती तत्कालीन शासकीय दासता, अन्धविश्वास, कुप्रथा, रुढिबूढी र गलत संस्कार र परम्पराको विरुद्ध नयाँ सन्देश दिएका थिए । सुनिए र बुझिएसम्म, हलोक्रान्तिका मुख्य चार अगुवाहरु क्रमशः प. तोयनाथ अधिकारीले धार्मिक दृष्टिले, मु. हरिभक्त पौडेलले कानूनी दृष्टिले, ले. शेषकान्त अधिकारीले प्रशासनिक दृष्टिले र श्रीकान्त अधिकारीले राजनीतिक दृष्टिले बाहुनहरुले हलो जोत्दा केही फरक नपर्ने र नहुने निष्कर्ष निकालेका थिए । तत्कालीन समयमा जनतामा चेतना जगाउन र राणाशासनको विरुद्ध जनतालाई संगठित पार्न हलोक्रान्तिले ठूलो सहयोग गरेको थियो ।
ऐतिहासिक हलोक्रान्तिका २७ अगुवामा पनि मुख्य चार मध्येका एक नायक जसको जन्म वि.सं. १९८४ जेठ १३ गते र देहावसान २०६९ कार्तिक ३० गते भयो, उनीबारे खोज, अध्ययन र अनुसन्धान हुनु जरुरी र आवश्यक नै थियो किनकि, उनले शैक्षिक जागरणदेखि सामाजिक सेवा र राष्ट्रिय राजनीतिमा पनि उल्लेखनीय भूमिका देखाए थिए, उनै श्रीकान्त अधिकारीको जीवनका विविध पक्षहरुलाई समेटेर अधिकारीबारे भावी पुस्तालाई जानकारी दिने उद्देश्यले श्रीकान्त अधिकारी स्मृतिग्रन्थ प्रकाशनसमितिले केही महिना अगाडि मात्र ‘श्रीकान्त अधिकारी स्मृतिग्रन्थ’ नामक ६०० पृष्ठको पुस्तक प्रकाशित गरेको छ । स्मृतिग्रन्थ गएको वैशाख १३ गते कानूनमन्त्री नरहरि आचार्यबाट विमोचन समेत भइसकेको छ ।
स्मृतिग्रन्थ पढेपछि पाठकलाई श्रीकान्त अधिकारी पढ्नु र जान्नुपर्ने व्यक्तित्व रहेको बोध हुन्छ । श्रीकान्त अधिकारी त्यो जमानाका विकासका त्यस्ता मोडेल हुन्, जसको चर्चा सर्वत्र हुन थालेपछि बीपी, गणेशमान, सुवर्णशमसेर र सुर्यप्रसाद उपाध्यायलगायतका नेताहरु समेत दुराडाँडासम्म पुगेका थिए । विद्धान लेखकहरुले गरेको श्रीकान्तको स्मृतिले उनीसँगको लेखकहरुको संस्मरण र अनुभूतिलाई समेत ताजा बनाउँछ । पुस्तक प्रकाशनप्रति सन्तोष र आनन्द पनि लाग्छ । स्मृतिग्रन्थ केही बोल्न र लेख्न घच्घच्चाउने खालको छ । अध्ययन पश्चात् थुप्रै जिज्ञासा र खुल्दुली पैदा हुन्छ । स्मृतिग्रन्थ प्रकाशनसमिति र लेखकहरुसँग भेटेरै केही सोध्न र गुनासो गर्न मन लाग्छ । स्मृतिग्रन्थमा उल्लेख गरिएका सीमित लेखहरुले न्यायपूर्ण स्मरण गरेपनि प्रायः लेखकहरुको अनावश्यक गन्थनले ग्रन्थलाई भद्दा मात्र बनाएको छ । श्रीकान्तबारे धेरैले लेख्न खोज्दा रहेछन् तर साँचो अर्थमा नचिनेका हुन्कि जस्तो लाग्छ । विद्धान सम्पादक मण्डलको सम्पादनमा देखिएको गम्भीर त्रुटि र कमीकमजोरीहरुले ज्ञान र दक्षताको अभाव नै देखाउँछ । जस्तो दिवंगत व्यक्तिलाई ‘जी’ र ‘ज्यू’ जस्ता आदरार्थी शब्दहरु राख्ने चलन त्रुटिपूर्ण लाग्दछन् । धेरै लेखकहरुले आफ्नो लेखमा चर्चा गरेका विषय एउटै र उस्तै पर्न जाँदा स्मृतिग्रन्थले अपेक्षित उचाई लिन सकेको छैन । श्रीकान्तकालीन समयचर्चा र दुराडाँडा क्षेत्रका उनका सहकर्मी, सहयोगीहरुको खोजी पर्याप्त भएको छैन । दुराडाँडाको श्रीकान्तकालीन विशिष्टताहरुलाई स्मृतिग्रन्थले खोतल्न सकेको छैन । श्रीकान्त र तत्कालीन दुराडाँडाको चेतना र महत्व मापन गर्न ग्रन्थ पर्याप्त छैन । श्रीकान्तका तीन पत्नी मध्ये माइली पत्नी गायत्री अधिकारीले गहकिलो स्मृति लेखेपनि जेठी धर्मपत्नी भगीरथी घिमिरे (अधिकारी)काबारेमा ग्रन्थमा अति कम चर्चा रहेको छ, जबकि श्रीकान्त अधिकारीलाई सामाजिक क्षेत्रमा उभिन भगीरथीको महत्वपूर्ण योगदान रहेको थियो । त्यस्तै, श्रीकान्तकी कान्छी पत्नी इन्द्रकुमारी अधिकारी र पुत्र भरतकान्त अधिकारीको कहींकतै नाम, चर्चा र स्मृतिसमेत समावेश छैन । नियोजित रुपले गरिएको यस कार्यले स्मृतिग्रन्थलाई पूर्णता दिन सकेको छैन । श्रीकान्तका समकालीन व्यक्तित्वहरु अधिकांश दिवंगत भइसकेका छन्, तापनि जो जीवित छन् उनीहरुसम्म पुग्ने जाँगर गरिएको देखिंदैन । खोजतलास गरी उनीहरुका विचार र अन्तर्वार्ता समेटन् सकेको भए ग्रन्थ अझ राम्रो बन्न सक्थ्यो । स्मृतिग्रन्थमा श्रीकान्तलाई नजिकबाट बुझ्ने केही व्यक्तिहरु छुटेको देखियो । जस्तो– सत्यमोहन जोशी, भरतशम्शेर, धर्मराज थापा, मदनमणि दिक्षित, राष्ट्रपति डा. रामवरण यादव, डा. बाबुराम भट्टराई, डा. जगमान गुरुङ, खगेन्द्रजंग गुरुङ, रामचन्द्र पौडेल, कमलमणि दिक्षित, प्राडा. राजेश गौतम, मदन रेग्मी, श्रीमति उर्मिला रिमाल (सूर्यप्रसाद उपाध्यायकी छोरी), अच्यूतराज रेग्मीलगायतकाहरुको स्मृति ल्याउन सकेको भए ग्रन्थ थप पठनीय बन्ने थियो । स्मृतिग्रन्थमा १२० मानिसका स्मृति अटाएपनि ४१ लेखरचना प्रकाशित गर्न असमर्थता देखाइयो । केही पृष्ठ बढाएर प्राप्त सामाग्रीहरुलाई समेत स्थान दिन सकेको भए धेरै दृष्टिले उपयुक्त हुन्थ्यो । स्मृतिग्रन्थको आकार र गुणस्तर हेर्दा मूल्य निकै चर्को लाग्छ । खरिद गर्नै नसक्ने एक हजार मूल्य राखेर श्रीकान्तलाई आमरुपमा पढाउन र बुझाउन नचाहेको जस्तो देखिन्छ ।
श्रीकान्त अधिकारीको सम्बन्धमा स्मृतिग्रन्थले केही अभिलेख हुन नसकेका कुराहरुलाई पनि उजागर गर्न सकेको छ । जस्तै– नरकान्त अधिकारीले वनारसमा बस्दा त्यहाँका पत्रपत्रिका पढन् नछुटाउनु, भारतीय राजनेताका भाषण सुन्नु भनी दिएका सल्लाहहरु, टारीकी दिदीको माध्यमबाट कृष्णप्रसाद भट्टराईसँग सम्पर्क हुन पुग्नु, वनारसबाट नेपाली कांग्रेसको योजनामा पोखरामा खटिआएका काना अबोला बाबासँगको गोप्य सम्पर्क, दौडाहा–अध्यक्ष हँुदा पश्चिम नेपालमा देउकी प्रथा विरुद्धको अभियान, गान्धीटोपी होइन नेपाली टोपी वितरण, जालीफटाहा उन्मूलन गरेको आदि प्रसंग नयाँ–नौला लाग्छन् । स्मृतिग्रन्थ प्रकाशन गर्ने फेशन र कर्मकाण्डभन्दा थोरै माथि उठेर श्रीकान्तको सफल कवि व्यक्तित्व पनि आएको छ, स्मृतिग्रन्थमा । उनका गद्य रचनाहरुलाई पनि ल्याउन सकेको भए सुनमा सुगन्ध हुन्थ्यो । श्रीकान्तसँगका टेपर्वार्ताको विषयवस्तु बुझ्न सकिने कुरै भएन । यसले पाठकहरुलाई थप जिज्ञासामात्र बढाउने काम गरेको छ । श्रीकान्तका अगुवाईमा भए÷गरेका विकास निर्माणका फोटो चित्रहरु राखेको भए राम्रो हुन्थ्यो । स्मृतिग्रन्थमा श्रीकान्तले परिकल्पना गरेको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिदृष्टिको चर्चा नगर्नुले लेखकहरुका स्मृतिहरुलाई केही कमजोर गराएको छ । राजा महेन्द्रको दौडाहा अध्यक्षमा मनोनीत भई पञ्चायतसँगको श्रीकान्तको उठबस, हिमचिम र राजनीतिक विचलनबारे लेख्ने हिम्मत कसैले गरेका छैनन् । २०१७ सालमा बाटो बिराएको यथार्थ लेख्न र छाप्न सकेको भए उनको र ग्रन्थको उचाई घट्ने थिएन । श्रीकान्तका कमीकमजोरी ढाकछोप गर्नुले स्मृतिग्रन्थ सामान्य कर्म निर्वाहभन्दा विशेष बन्न सकेको छैन । २००८ सालमा बाह्रवटा स्कुल दुराडाँडा वरिपरि मात्र खोलेकोमा लमजुङकै दुराडाँडा क्षेत्रबाहेकका मानिसहरुको समेत श्रीकान्त अधिकारीप्रति ठूलो गुनासो रहेको कुरा आज समेत सुन्न पाइन्छ । जुन कुरालाई लुकाए÷छिपाएको जस्तो लाग्छ ।
जेहोस्, असल, अग्रणी, अनुकरणीय र अगुवा व्यक्तिहरुको यसरी स्मृतिग्रन्थ आउनु आफैमा राम्रो कुरा हो । शिक्षासेवी, समाजसुधारक, कर्मयोगी, बहुआयामिक र प्रेरणादायी व्यक्तित्व श्रीकान्त अधिकारी लमजुङको दुराडाँडा क्षेत्रको मात्र नभई नेपालकै ज्योति र मोति हुन् ।  समाज र आउने पुस्ताले संम्झनुपर्ने श्रीकान्त अधिकारी जस्ता अविस्मरणीय व्यक्तिहरुलाई सदा सम्मान गर्न सक्नुपर्छ । श्रीकान्तको सम्झना र स्मृतिले भावी पुस्तालाई थुप्रै कुरा सिक्न र सिकाउन मद्दत गर्छ ।
स्मृतिग्रन्थ प्रकाशन कार्य राम्रो प्रयास र सुरुवात हो । दुराडाँडाको माटोमा सम्पन्न २००६ सालको हलोक्रान्ति, २००८ सालको शैक्षिक क्रान्ति, २००९ सालको राजनैतिक सम्मेलन, प्रजातान्त्रिक समाजवादोन्मुख ग्रामीण पद्धति र २०२६ सालको पूर्वीय शिक्षाको क्रान्ति आदिको वास्तविक अभिलेखसहितको फोटो, शिक्षाद्धार, टीकाचौतारी, खजेदुरा सालिक, शाही राज तिलक पहिर्याएको स्थल भनिएको सिन्दुरे ढुंगा आदिको तस्बीर खिचेर राख्न सकेको भए स्मृतिग्रन्थको औचित्य र महत्व थप वृद्धि हुने थियो । श्रीकान्त अधिकारी रहस्यमय र अज्ञात पात्र नै हुन् । उनकाबारेमा निरन्तर खोज, अध्ययन र अनुसन्धान भइराख्नुपर्छ । भविश्यमा इतिहासकार र अन्वेशकहरुलाई सजिलो हुने गरी स्मृतिग्रन्थ प्रकाशन समितिले अब कार्य गर्नसक्नुपर्छ । उनको योगदानको सही मुल्यांकन गरी जीवन्त राख्न सकेमात्र श्रीकान्तप्रति सच्चा श्रद्धान्जली हुनेछ ।

No comments:

Post a Comment