Friday, July 26, 2013

आज हलो क्रान्ति दिवश लमजुङमा बिभिन्न कार्यक्रम गरी मनाईँदै

लमजुङ, श्रावण ११ । आज हलो क्रान्ति दिवस । आजभन्दा ६४ वर्ष अगाडि देशमा प्रजातन्त्र आउनुअगावै वि.सं. २००६ साल साउन ११ गते लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेर सामाजिक क्रान्ती थालेका थिए । राणाशाहीकाविरुद्ध सांकेतिक रुपमा पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले हलो जोतेर क्रान्ती थालेका थिए । दुराडाँडामा हलो जोतेपछि यो अभियान तनहुँ, कास्की र धादिङसम्म पनि फैलिएको थियो ।

हलो क्रान्तिका अभियन्ता मायानाथ पौडेल, त्यस बेला हलगोरु जुटाउने, नार्ने र जोत्ने काम गरेको अनुभव सुनाउनु हुन्छ । त्यसयता वर्षेनी लमजुङको दुराडाँडामा हलो क्रान्ति दिवस मनाइन्छ । यो दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलो क्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ ।

हलो क्रान्तिलाई राष्ट्रिय दिवस र पण्डित तोयानाथलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने माग तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दिपक पौडेलको छ । त्यतिबेला हलो जोत्ने ब्राह्मणहरुलाई तात्कालीन राणाशाही प्रशासनले निकै दूःख दिएको थियो । यद्यपि, उक्त अभियान समाज सुधारमा एउटा ठूलो फड्को थियो ।