Tuesday, November 27, 2012

नेपाली चलचित्रसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


लमजुङ, १२ मङ्सिर । नेपाली चलचित्रकर्मीहरुले अबका दिनमा नेपालीपन झल्कने मौलिक चलचित्र बनाउने दृढता व्यक्त गरेका छन् ।लमजुङको पर्यटकीय घलेगाउँमा सम्पन्न चलचित्र निर्देशकहरुको तेस्रो कार्यशाला गोष्ठीपछि चलचित्रकर्मीहरुले  हाल विद्यमान धारलाई परिवर्तन गर्ने दृढता व्यक्त गरेका हुन् । मङ्सिर ६ देखि ११ गतेसम्म सञ्चालित कार्यशाला गोष्ठीमा नेपाली चलचित्रहरुमा हलिउड र बलिउडबाट नक्कल गर्ने परम्पराका कारण मौलिकपन हराउँदै गएकोप्रति सहभागीहरुले चिन्ता जनाएका थिए ।चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेलले घलेगाउँ जस्ता प्राकृतिक र सांस्कृतिकरुपमा पनि सुन्दर गाउँका कथामा चलचित्र बनाउन गोष्ठीले प्रेरणा दिएको बताउनुभयो । “सहरको कोलाहलभन्दा ग्रामीण भेगमा नेपालीपनका चलचित्र धेरै बन्न सक्छन्”– पौडेलले भन्नुभयो । चलचित्र निर्देशक, लेखक, छायाँकार, समीक्षक, निर्माता तथा पत्रकारहरुको सहभागिता रहेको सो गोष्ठीमा नेपाली चलचित्र र विदेशी चलचित्रको तुलना गरिएको थियो । कार्यशालाका प्रशिक्षक तथा निर्देशक राजेन्द्र सलभले जातीय तथा सांस्कृतिक विविधतालाई चलचित्रमा उतार्न कार्यशाला फलदायी भएको विश्वास व्यक्त गर्नुभयो । निर्देशक लक्ष्मीनाथ शर्माले नेपाली चलचित्रमा मौलिकता ल्याउन देशका विभिन्न गाउँहरुमा जानुपर्ने सन्देश कार्यशालाले दिएको बताउनुभयो ।

मौलिक चलचित्र निर्माण, संस्कृति र समाजको विकास तथा चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सार्क राष्ट्रकै नमुना घलेगाउँमा कार्यशाला आयोजना गरिएको बताइएको छ । सो अवसरमा ग्रामीण जनजीवन, भेषभूषा, संस्कृतिलाई आधार बनाएर सातवटा लघु चलचित्र निर्माण गरिएको थियो । यी लघु चलचित्र आगामी दिनमा कथानक चलचित्र बनाउन कथाको खोजी गरिरहेकाहरुलाई उपयोगी हुने विश्वास गरिएको छ । कार्यशालामा  राजेश गंगज्यो, वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, राजेन्द्र सलभलगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा लमजुङमा जन्मेका चलचित्र निर्देशक तीर्थ थापालाई सम्मान गरिएको थियो ।